विश्वास मत पाएपछि मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्री तनावमा

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट दोस्रो पटक विश्वासको मत लिएसँगै मन्त्रालय बाँडफाँडका विषयमा तनावमा रहेका छन् । विश्वासको मत लिएसँग मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेका प्रधानमन्त्री कसलाई कुन मन्त्रालय दिन वा कुन पार्टीको भागमा के पार्ने भन्ने कुराले तनावमा परेका हुन् ।

प्रचण्डले यसअघि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सांसद संख्याको आधारमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि ल्याएका छन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका बनाएका छन् । तर कतिले चित्त बुझाउँछन वा बुझाउँदैनन् । कतै चित्त नबुझाएमा सरकार फेरि संकटमा पर्ने निश्चित छ ।

सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने प्रचण्डको प्रस्ताव छ । स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय पाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मनाउने प्रयास भइरहेको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले जसपा दुई मन्त्रालयमै सहमत हुने सम्भावना छ । यस्तै, कोशी प्रदेशको मुख्यमन्त्री दिएर नेकपा (एकीकृत समाजवादी) लाई पनि दुइटा मन्त्रालयमै मनाउने प्रयास छ ।

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीलाई पनि एक -एक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।