सव–इन्जिनियर गणेश ठकुल्लाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं, चैत । घुस रकम सहित पक्राउ परेका काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागमा कार्यरत सव इन्जिनियर गणेश ठकुललालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहलमा कार्यरत ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रकम सहित रंगे हात पक्राउ गरेको थियो ।

शहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन ईकाईमा कार्यरत उनी केही समय अघिमात्र महानगरपालिकामा समायोजन भएर गएका थिए । सेवाग्राहीसाग उनले निर्माण सम्पन्न प्रमाणपत्र निकासाको काम अगाडि बढाउने नाममा घुस मागेका थिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।