लम्पी स्किन रोगबाट हालसम्म कति पशु मरे, के यसको नियन्त्रणको लागि ठोस कदम चालिएको छैन ?

काठमाडौं । केहि महिना अघिबाट पशुहरुमा देखिएको लम्पी स्किन संक्रमणका कारण यतिबेला किसानहरू त्रसित भएका छन् । हालसम्म यस संक्रमणका कारण २१ हजार चार सय ३१ वटा पशु मरिसकेका छन् । पशु विभागका अनुसार हालसम्म ६ लाख आठ हजार दुई सय २५ पशु संक्रमित भएका छन् । जसमध्ये एक लाख ३६ हजार पशुमा खोप लगाइएको छ ।

यस संक्रमणका कारण कर्णाली प्रदेशमा सबैभन्दा धेरै पशु संक्रमित भएको विभागले जनाएको छ । उक्त प्रदेशमा हालसम्म एक लाख ८७ हजार आठ सय ३९ पशु संक्रमित छन् । संक्रमणका कारण सुदूरपश्चिममा नौ हजार एक सय ९१ पशुको मृत्यु भएको छ । कोसी प्रदेशमा भने हालसम्म सबैभन्दा धेरै संक्रमित पशुलाई खोप लगाइएको पशु विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोसी प्रदेशमा ७२ हजार ४९ खोप लगाइएको छ ।

लम्पी स्किनको बढ्दो संक्रमण बढेसँगै पशु मर्नेको संख्या बढिरहँदा सरकारले यसको नियन्त्रणको लागि ठोस कदम चालेको  देखिँदैन । समयमै किसानलाई खोपको बारेमा जानकार नहुँदा धेरै पशु मरेको किसान महासंघ समूहका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । उनले भने, ‘संक्रमण गाउँ–गाउँमा तीव्र गतिमा फैलिएको छ, कतिपय किसानलाई रोगको बारेमा थाहा नहुँदा र खोप समयमै उपलब्ध नहुँदा धेरै क्षति हुन पुगेको हो ।’ रोगको बारेमा थाहा नहुने धेरै पशुहरू एकैगोठमा बाँधिने हुँदा संक्रमण दर अझ बढेको उनको भनाइ छ ।

विशेष गरी यस रोगको संक्रमण गाई, भैँसी, राँगा, बाछाबाछी, पाडापाडीमा सर्ने विभागले जनाएको छ । लामखुट्टे, किर्ना भुसुना, रगत चुस्ने झिँगालगायत संक्रमणबाट एकबाट अर्को पशुमा सर्ने हुँदा छिटो संक्रमणको दर बढेको विभागको भनाइ छ । नेपाल पशु विभागका डा। चन्द्रप्रसाद ढकालले खोप लगाउने र प्रचारप्रसारको कामलाई निरन्तरता दिएको जिकिर गरे ।

गर्मी महिनामा निकै फैलिने यो रोग लामखुट्टे, रगत चुस्ने झिँगा लगायतबाट बचाउनुपर्ने र खोपको आपूर्ति व्यवस्था बढाउने प्रयास भइरहेको उनको भनाइ छ । डा। ढकालले भने, ‘हामीले सातवटै प्रदेशमा टोली खटाएर स्थानीयस्तरबाट खोपलाई प्राथमिकता दिएका छौँ, एकैपटक नियन्त्रण आउन त सक्दैन, तर अहिलेको विकल्प, किसानलाई रोगको बारेमा जानकारी र रोगको प्राथमिक उपचार र खोप नै अन्तिम हो ।’