लागुऔषधसहित शिक्षक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध अफिम ओसारपसार गरेको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित विकट राक्सिराङ गाउँपालिकाबाट मनहरी बजारतर्फ आउँदै गरेको बा ५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा चालक फरार भएका थिए । उक्त मोटरसाइकलमा सवार प्रलाद दर्जीलाई ३ किलो ४ सय ६० ग्राम अफिमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका शिक्षक मनहरी–७ रमनटारका ३६ वर्षीय दर्जीलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

प्रहरीले दर्जीको साथबाट नगद ५० हजार रुपैयाँ पनि बरामद गरेको जनाएको छ । फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।