धान रोप्न चितवन पुगेका ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धान रोप्न चितवन पुगेका छन् । असार १५ मनाउन चितवन आएका ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गरेका हुन् । धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए ।

भरतपुर महानगरपालिका वडा नं।२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिए ।