माधव नेपाल भन्छन् : केहीले मलाई विदेशमै लुकेर बस्छन् भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। उनि सोमबार बिहान स्वदेश फर्किएका हुन्।

पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए।

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए।

‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयहरूमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो।

अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।