ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव पौड्यालसँग बयान

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताएका छन् । २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो । त्यही निर्णयका विषयमा सीआईबीले उनीसँग बयान लिएको जनाइएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीसँग बयान लिएको थियो । केहीअघि सर्वोच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरूमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

उक्त जग्गा प्रकरणमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

अहिलेसम्म २० जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीहरू मुछिएका छन् ।