गण्डकी प्रदेश सभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित

काठमाडौं । गण्डकी प्रदेश सभाले बिजनेस नपाउँदा दोस्रोपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ । पछिल्लोपटक २२ असारमा बसेको प्रदेश सभा बैठकले चालू आर्थिक वर्ष ०८०र८१ का लागि प्रदेश सरकारले ल्याएको बजेट पारित गरेको थियो । त्यसपछि अर्को सूचना नभएसम्मका लागि भन्दै सभामुख कृष्णप्रसाद धितालले २५ साउनसम्मका लागि बैठक स्थगित गरेका थिए ।

२५ साउनमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै बाहिरी जिल्लामा रहेका प्रदेश सभा सदस्यहरू पोखरा आएका थिए । तर कार्यव्यवस्था परामर्श समितिको बैठकले २९ साउनमा बस्ने भन्दै सूचना टाँसेर बैठक स्थगित भएको थियो । बैठकमा सहभागी हुन प्रदेश सभा पुगेका सांसदहरू दुई घन्टासम्म दलको कार्यालयमा बसेर फर्केका थिए । सोमबार पनि बस्न नसकेपछि मंगलबारका लागि बैठक सारिएको छ ।

यसअघि २२ साउनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर २५ गते संसदीय समिति गठन गर्ने गरी कार्यसूची तय गरेको थियो । तर समितिमा आ–आफनो दलको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको नाम दलहरूले नदिएपछि सभामुखले कार्यसूची परिवर्तन गर्दै प्रदेश सरकारले हालसम्म गरेका कामबारे मुख्यमन्त्रीले सभालाई सम्बोधन गर्ने गरी कार्यसूची तय गरेका थिए ।

मुख्यमन्त्री वा विपक्षी दलको नेता बोल्नका लागि मात्रै भनेर संसद् बैठक बस्ने प्रचलन नभएको भन्दै २५ साउनको बैठक स्थगित भएको थियो । बैठक बस्न नसकेकोमा दलहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सत्ता पक्षले समितिमा बस्ने सदस्यहरूको नाम एमालेले नदिएकाले बैठक बस्न नसकेको आरोप लगाएको छ । एमालेले सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा कामविहीन भएको आरोप लगाउँदै आएको छ ।