उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोरला नाका सञ्चालनका लागि चीनसँग छलफल हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने उनको भनाइ छ ।

बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले पहल गर्नेछ,’ उनले भने, ‘बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौं ।’

सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनले बताए ।