बालेनको चेतावनीलाई चुनौती दिँदै काठमाडौंका प्रधानाध्यापकहरु आन्दोलनमा, विद्यालयको पठनपाठन ठप्प

काठमाडौं महानगरपालिकाले पठनपाठन ठप्प पारेर आन्दोलनका कार्यक्रम घोषणा नगर्न शिक्षकहरूलाई बारम्बार आग्रह गर्दै आएको छ । आन्दोलनका नाममा विद्यालयको पठनपाठन ठप्प पारिए कानुनअनुसार कारबाही गर्ने महानगरले जनाउँदै आएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरमातहत लगभग साढे २ लाख विद्यार्थी र १० हजारभन्दा बढी शिक्षकहरू रहेको उल्लेख गर्दै शिक्षा विधेयकमा आफूहरूको पनि असहमति रहेको जनाएका छन् ।

‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहीत रहेको छ,’बालेनले फेसबुकमा लेखेका छन्, ‘किनकी काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन, छन् ।’

यति हुँदाहुँदै पनि बालेनले विद्यालय नै ठप्प पारेर आन्दोलनमा नजान शिक्षकहरूलाई आग्रह गरेका छन् । त्यसो गरिए कानुनअनुसार कारबाही गर्ने उनको चेतावनी छ ।

‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला । यस्ता अवरोध पुर्‍याउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ,’बालेले फेसबुकमा लेखेका छन् :

शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन , छ्न ।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ,’ ।
तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठन मा अबरोध नपुराउनु होला । यस्ता अबरोध पुराउनेहरुलाइ कानुन( संविधान ०)अनुसार कारबाही हुनेछ ।

महानगर र बालेनको यस्तो चेतावनीलाई बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाभित्रका सामुदियक विद्यालयका प्रधानाध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरूले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका छन् ।

ुनेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशैभरिको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकको निर्णय गरेकाले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै विज्ञप्ति जारी गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूको विज्ञप्तिः

उपत्यकाका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प, विद्यार्थीहरूलाई घर फर्काइयो