आन्दोलनका कारण रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको पत्र

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न परिपत्र गरेको छ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।

पत्रअनुसार घटस्थापनापछि असोज २९ र ३० गते गाउँपालिकाभित्रका सामुदायिक विद्यालय सञ्चालन हुनेछन् ।

शिक्षकहरुले शिक्षा विधेयकको विरोध गर्दै आन्दोलन गरेपछि २ दिन देशैभरका सामुदायिक विद्यालयको पढाई प्रभावित भएको थियो ।

विद्यार्थीहरुको पढाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

‘विद्यार्थीको भविष्यप्रति हामी संवेदनशील छौं, त्यसैले आन्दोलनले रोकिएको पढाइ दशैंको सार्वजनिक बिदा असोज २९ र ३० गते गराउन सामुदायिक विद्यालयहरूलाई आग्रह गरिएको हो’, उनले भने ।