पहिचानको नागरिकता लिन मर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित हो : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पहिचानसहितको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरी फालेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिको मृत्यु भएको प्रसंग प्रतिनिधिसभामा उठाएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले उक्त कुरा उठाएकी हुन् । ‘संविधानको धारा १२ मा लैंङ्गिक पहिचानसहितको नागरिकता प्राप्त गर्ने प्रावधान छ । पहिचानको नागरिकता बनाउन लिङ्ग परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था नेपालमा छैन,’ उनले भनिन्, ‘तर, पहिचानको नागरिकता दिन अस्पतालबाट शल्यक्रिया गरी लिङ्ग परिवर्तन गरेको र स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको प्रमाणपत्र राज्यले माग्छ ।’

यस्तो अवस्था आउनु कति न्यायोचित हो भन्दै उनले प्रश्न गरिन् । ‘पहिचानको नागरिकता लिन यसरी मर्नुपर्ने अवस्था आउनु कतिको न्यायोचित हो ? नागरिकताको लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता दिने प्रावधान छ । तर, अन्यबाट नागरिकता लिन पनि सहज छैन,’ उनले भनिन् ।

संविधान बनेको ८ वर्ष बितिसक्दा पनि संविधानमा यो समुदायको संरक्षण र विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्ने भनिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । ‘समानुपातिक सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने भनिएको छ । विडम्बना अहिलेसम्म कानुन बनेको छैन । यो ८ वर्षमा राज्यले कुन कुन निकायमा यो समुदायका व्यक्तिलाई पुर्‍यायो ?’ उनले प्रश्न गरिन् ।