सुन तस्करी प्रकरणमा राहुलको बयान : भन्सार अधिकृतलाई फोन गरेको हुँ, भेप छुटाउन दबाब दिएको होइन

काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको स्वीकार गरेका छन् ।

भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले समातेपछि चीनका पुरानो साथी वाङले आफूलाई अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत श्रेष्ठलाई त्यसबारे बुझ्न फोन गरेको बताएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा राहुलले चिनियाँ साथी वाङको अनुरोधमा विमानस्थलस्थित भन्सार कार्यालयमा रोकिएको भेप निकाल्न मिल्छ कि मिल्दैन बुझिदिनुपर्‍यो भनेर प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

‘के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ । छुटाउन दबाब दिएको होइन र यो प्रकरणमा मेरो अरु संलग्नता छैन,’ उनले बयानमा भनेका छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट्न उनको कार्यकक्षमा पनि पुगेको महराले बयान दिएका छन् ।

उनले भनेका छन्, ‘चिनियाँ साथी वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल, तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जाने एक व्यक्ति र म विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेका थियौँ ।’

भेटमा पोखरेललाई भन्सार कार्यालयमा रोकिएको भेप के गर्न सकिन्छ भनेर सोधेको पनि उनले बताएका छन् ।

तर, जवाफमा पोखरेलले पनि श्रेष्ठले जस्तै जफत भएको सामान भन्सार तिरेर पनि फिर्ता गर्न नमिल्ने बताएको महराले बयान दिएका छन् । महराले भेप छुटाउनका लागि दबाब दिन ६-७ पटक आफू नगएको बताएका छन् । महराले १० पुसमा आएको दुईवटा सुटकेशभित्र रहेको विद्युतीय चुरोट भेपभित्र सुन भएको कुरा आफूले मिडियाबाट मात्रै थाहा पाएको दाबी गरेका छन् ।