हमासका लडाकुसँग युद्ध गर्न ३ लाख इजरायली सेना सिमानामा तैनाथ, युद्धका लागि गाजाभित्रै पठाइने

काठमाडौं ।  इजरायल र हमासबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ । यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् ।

हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल सरकारका अनुसार हमासले शनिबारको आक्रमणपछि १५० जनालाई अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएको छ ।

हमासले इजरायलको हवाई आक्रमण जारी रहे अपरहण गरिएका सबैको ज्यान लिने धम्की दिएको छ । यस्तोमा इजरायल सरकारले हवाई आक्रमण कम गरेर जमिनमा युद्ध गर्ने रणनीति लिएको छ ।

बीबीसीका अनुसार यतिबेला गाजालाई पूर्ण रूपमा घेराबन्दी गरेर इजरायलले सिमानामा ३ लाख सेना तैनाथ गरेको छ । ती सेनालाई गाजाक्षेत्रभित्रै पठाइने सम्भावना छ । यसो हुँदा अब हवाई आक्रमण बन्द हुनेछ र मैदानमा हमासका लडाकुसँग युद्ध चल्नेछ । मैदानमा हुने युद्ध जिते अपहरणमा परेका मानिसहरू सकुशल उद्धार गर्न सकिने इजरायलको सोच छ ।

पछिल्लोपटक हमासको आक्रमणमा इजरायलको हवाई प्रतिरक्षा प्रणाली कमजोर देखिएको विश्लेषण पनि भइरहेको छ । गत शनिबार एकै दिन हमासले ५ हजार रकेट र क्षेप्यास्त्र इजरायलतर्फ आक्रमण गरेको थियो । इजरायलमा आइरन डोम भनिने हवाई प्रतिरक्षा प्रणालीले ९६ प्रतिशत आक्रमणलाई रोक्ने दाबी गरिन्छ । तर, यसपटक आइरन डोम असफल भएको टिप्पणी भइरहेको छ ।

बीबीसीको एक रिपोर्टअनुसार पहिलेजस्तो हमासले यसपटक आक्रमणको कुनै चेतावनी दिएन, साथै उनीहरूले दोस्रो विश्वयुद्धताकाको युद्ध रणनीति अपनाएका कारण पनि यसपटक इजरायलतर्फ धेरै क्षति हुन पुगेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासका लडाकुहरू समुद्र, सीमाक्षेत्र र आकाशबाटै इजरायल प्रवेश गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले प्यालेस्टिनी लडाकुहरू प्यारासुटबाट इजरायलको समुद्री तथा स्थल क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेका छन् । इजरायलविरुद्ध हमासले प्यारासुटबाट उत्रिएर यसरी आक्रमण गरेको यो नै पहिलोपटक हो ।

अग्रमोर्चामा रहेको आफ्नो सैन्य टोलीलाई विपक्षीको रेखा पार गराउन सकिन्छ भन्ने उद्देश्यका साथ मोटर प्यारासुटको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धको समयमा जर्मन, जापानजस्ता देशले प्यारासुटबाट आफ्ना सेनालाई अन्य देशको भूमिमा उतारेका थिए ।

अमेरिकाको पर्ल हार्बरमा जापानी सेनाले प्यारासुटबाट अवतरण गरेर भीषण आक्रमण गरेको घटनालाई अझै सम्झिने गरिन्छ ।

हमासले प्रयोग गरेको मोटर प्यारासुटको माध्यमबाट प्याराग्लाइडरहरू जमिनबाट औसत ५ हजार मिटरको उचाइमा तीन घण्टासम्म उड्न सक्छन् । प्याराग्लाइडिङ वेबसाइटहरूका अनुसार उनीहरूले २३० किलोसम्म बोक्न सक्छन् वा उनीहरू चार जना व्यक्तिसम्मलाई एकैसाथ उडाउन सक्छन् ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायली वायु रक्षा प्रणाली आइरन डोम र राडारजस्ता प्रणालीले क्षेप्यास्त्र र रकेटजस्ता हतियारलाई पत्ता लगाउन सक्छन्, तर प्यारासुटमा आएका दुस्मनलाई प्रतिरक्षा प्रणालीले पत्ता लगाउन नसक्दा यसपटक इजरायलमा धेरै मानिसले ज्यान गुमाएका छन् ।

यसबाट इजरायल आफ्नो प्रतिरक्षा प्रविधिमा पूर्ण रूपमा विश्वस्त र निर्भर थिए भन्ने स्पष्ट हुन्छ । यदि सीमाक्षेत्रमा प्रतिरक्षा प्रणालीसँगै सेना पनि तैनाथ भए उनीहरूले प्यारासुटबाट आएका मानिसहरूलाई आकाशमै विफल बनाउन सक्थे । एजेन्सीको सहयोगमा