चित्लाङमा शुरु भएको पाँच सय वर्ष पुरानो कार्तिक नाच सकियो

मकवानपुर । मकवानपुर जिल्लाको पर्यटकीय स्थल थाहा नगरपालिका – ९ चित्लाङमा कात्तिके नाच सकिएको छ । कोजाग्रत पूर्णिमादेखि चार दिनसम्म कृष्णलिला सहितको कात्तिके नाच नाच्ने प्रचलन रहेको छ ।

चित्लाङ माझगाउँमा शनिबार बेलुकादेखि सुरु भएको नाच मंगलबार बिहान राँगाको बलि दिएर प्रसाद बाँडेपछि विधिवत् रुपमा सकिएको हो । चित्लाङका नेवार समुदायले करिब पाँच सय वर्षदेखि यो नाच नाच्दै आएका छन् ।

गाउँमा रोगव्याध नलागोस् भनेर नाँच नाच्दै आएको स्थानीय बताउँछन् । पूर्णिमाको अघिल्लो दिन कोतघरबाट स्वच्छन्द भैरवको रथ भैरब थानमा लगिन्छ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु हुने गर्दछ ।

गाउँका मुख्य गुरुको घरबाट पूजा गरी पाँचवटा देवता गणेश, भैरब, बराही, कुमारी र महालक्ष्मीको नाच निकालिने गरिन्छ । नौवटा देवताको नाच ९ वर्षमा देखाइन्छ भने पाँचवटा देवताको नाच हरेक वर्ष देखाउने प्रचलन रहिआएको छ ।

चित्लाङको मौलिक नाच बनियाका साथै देवता, सिकारी, बाठा नाच समेत देखाइन्छ । जात्राको अन्तिम दिन बिहान मुखुण्डो लगाएर स्वच्छन्दभैरव, गणेश, वराही, महालक्ष्मी र कुमारीको रुप धारण गरेका व्यक्तिले बलि दिएको राँगाको घाँटीमा मुख लगाएर आलो रगत पिउने प्रचलन छ ।

अन्तिममा प्रसाद स्वरुप बलि दिएको राँगाको मासु बाँडेर जात्रा समापन हुन्छ । नाच हेर्नका लागि चित्लाङ वरपरका बज्रबाराही, मार्खु, कुलेखानीका साथै हेटौंडा लगायत काठमाडौं, ललितपुरबाट मानिसहरु आउने गरेका छन् । परापूर्वकालदेखि चल्दै आएको नृत्य संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा स्थानीयको जोड छ ।