भारतलाई छ विकेटले पराजित गर्दै विश्वकपको उपाधि अस्ट्रेलियाले हात पार्यो

काठमाडौं। अस्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप(२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अस्ट्रेलिया योसँगै छैटौँ पटक विश्व विजेता बनेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अस्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौरनौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए ।

अस्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।