पाटन दरबारमा कात्तिक नाच सुरु , १० गतेसम्म निरन्तर रुपमा सञ्चालन हुने

काठमाडौं । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरिएको कात्तिक नाच गत शनिबार रातिबाट सुरु भएको छ । ३ सय ८१ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ ।

नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । विष्णु पुराणको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ । उक्त डबली लाई कात्तिक डबली पनि भनिन्छ ।

कथन अनुसार वि।सं। १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए । सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा विसं। १७३० मा सात दिन थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिनसम्म सो नाच चलाएका थिए ।

त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए । यो वर्षको कात्तिक नाच मङ्सिर ११ गते समापन हुनेछ ।