सर्वसाधारणका लागि ‘काष्ठमण्डप’ कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमा

काठमाडौं । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ को पुनर्निर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ । पुनर्निमाण भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ गर्नेसर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमा नै छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) का अनुसार पुनर्निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकिन हुन्छ ।

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो । उक्त सम्पदा पुनर्निर्माणका लागि २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय गर्‍यो । यसको चार दिनपछि अर्थात् जेठ २९ गते महानगरपालिका र समितिबीच पुनर्निर्माणका लागि सम्झौता भयो ।

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई रु। ५० लाख प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु। पाँच करोड, २०७६ माघ ९ गते रु। पाँच करोड र २०७८ असार १६ गते रु। एक करोड उपलब्ध गरायो ।

क्षति भएको उक्त सम्पदा पुनर्निर्माणका लागि महानगरले उपलब्ध गराइएको रु। ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनर्निर्माण समितिको संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गर्नुभएको छ ।

पुनर्निर्माणका क्रममा भएको भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो । रासस