धितोपत्र बोर्डको अध्यक्षका लागि छानिए पाँच जना, को–को परे लिस्टमा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोन को अध्यक्ष पदका लागि पाँच जनाको नाम छानिएको छ । फागुन ३० गतेसम्म अध्यक्षका लागि आवेदन माग गरिएकोमा १९ जनाले आवेदन दिएका थिए।

आवेदन दिएकामध्येबाट धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा। नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ छनोटमा परेका हुन्।

गत माघमा अध्यक्ष रमेशकुमार हमाल बाहिरिएसँगै रिक्त अध्यक्षको पद पूर्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र विज्ञ सदस्यसहित तीन सदस्यीय सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते अध्यक्षका लागि आवेदन माग गरेसँगै आइतबार ५ जनाको नाम अन्तरवार्ताका लागि छनोट गरेको हो ।

पाँच जनाबाट थप दुई जना हटाएर समितिले अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । यसपश्चात् मन्त्रिपरिषदले तीनजनाबाटै एक जना बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।