गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने ! के छ सुरक्षा तयारी ?

काठमाडौं । हिजो गणतान्त्रिक सरकारलाई समर्थन गर्दै त्यही सरकारमा सामेल भएर उपप्रधानमन्त्री बन्न सफल भएका राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आज गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै प्रदर्शन गर्ने भएको छ । विहान ११ बजे भृकुटीमण्डपमा कार्यकर्ता भेला पारेर राप्रपाले प्रदर्शन गर्न खोजेको हो । प्रर्दशनका लागि भन्दै राप्रपाले विभिन्न जिल्लाबाट समेत कार्यकर्तालार्य काठमाडौंमा ओसारेको छ ।
प्रदर्शनमा सरकारले विभिन्न स्थानमा तोकेको निषेधाज्ञा तोड्ने राप्रपाले घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

सो प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको र सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको हो ।

प्रदर्शनका लागि सोमबार साँझसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ । आज पनि केही भित्रिन सक्ने र पहिल्यैदेखि काठमाडौंमा रहेकाहरुसमेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुको संकेत दिएका छन् ।

‘राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भनेको छ । त्यसका लागि प्रहरीले ६ हजार जनशक्ति परिचालन गर्ने गरी तयारी अवस्थामा राखेको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ ।

राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधाज्ञा तोड्ने भने पनि निषेधाज्ञा तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको छ । त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।