प्रचण्डले घण्टी बजाउँदा रविको पार्टी कोमामा,महामन्त्रीले भने ‘सर्जरी गरौं’

काठमाडौं । नेकपा माओवादीको नेतृत्वको सरकारमा उपप्रधान तथा गृह मन्त्री लिएर सरकारमा सामेल भएका रवि लामिछानेको पार्टी स्थापनाको दुई वर्ष पुगेको छ । दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाको पार्टी कार्यालमा घण्टी बजाउँदा पार्टी त कोमामा पुगिसकेको रहेछ । सायद प्रचण्डले बजाएको घण्टीको ध्वनीले कोमाबाट माथि उठ्न मुश्किल पर्ने संकेत देखिएको छ ।

सामाजिक सञ्जालबाटै उदाएको पूर्व सञ्चारकर्मी रवि लामिछानेको पाटी राष्ट्रिय स्वतन्त्र पार्टी कोमामा पुगेको हो । सो कुराको सो पार्टीका महामन्त्री डा मुकुल ढकालले पार्टी गम्भीर विरामी परेको वन्दै सर्जरी गर्नु पर्ने प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएपछि सो पार्टी जन्मिएको दुई वर्षमा नै कोमामा पुग्न लागेको देखिएको छ । पार्टीलाई तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्ष ढकालको प्रतिवेदन छ ।

भर्खरै सम्पन्न इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव संकलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो । सोही जिम्मेवारी लिएर देशका विभिन्न ३८ जिल्लामा तीन हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी रहेको बताए । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ’ ढकालको दावी छ ।

सभापति लामिछानेलाई बुधबार साँझ गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले नै चुनाव भए रास्वपाले अहिलेकै सिट जोगाउन नसक्ने निश्कर्ष सुनाए ।

आम निर्वाचनको तीन महिनामा जनतासँग निकै मेहनत गरी सामाजिक सञ्जाललाई भरपूर प्रयोग गरेको रास्वपाले ०७९ को चुनावमा ८ सिट जितेको थियो भने समानुपातिकमा माओवादी केन्द्रले बराबर १० लाख भन्दा बढी मत पाएको थियो ।

०८४ को चुनावमा एक्लै बहुमत ल्याउने दाबी रास्वपाका नेताहरुले गर्दै आएका छन् । तर महामन्त्री ढकालले एक्लै बहुमत होइन, राष्ट्रिय पार्टी बन्न पनि कठिन हुने समीक्षा गरेका छन् ।