कष्टपूर्ण वन्दै दाउन्ने सडकखण्डको यात्रा

परासी । राजमार्गमा निर्माणमा ठेकेदारले ढिलाई गर्दा नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको हो ।

सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।

दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्छ । दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ ।

सवारी चालक वसन्त खनालका अनुसार १४ किलोमिटरको बाटो पार गर्न दुई–तीन घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौँबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौँ जाने सवारीसाधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको बताए । दाउन्ने खण्डको सडक साँघुरो, उकालो–ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ उनले भने । , “भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ । हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ ।”

यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको छ ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।