संसद पुनस्थापना भए को हुन्छ प्रधानमन्त्री ?

काठमाडाैं । संसद पुनस्थापना भए को हुन्छ प्रधानमन्त्री  भन्ने एकखाले अड्कलबाजी सुरू भएको छ ।  जेठको अन्तिम दिन सोमवार एउटा राजनीतिक तप्कामा गाँइगुँइ चल्यो – विपक्षी गठबन्धन प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन अग्रसर बनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेपछि एक नेताले त्यस्तो आशङ्का बीबीसीसँगको कुराकानीमा पनि व्यक्त गरे ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रसँगको एकीकरणपूर्वको एमाले स्थायी कमिटी बैठक बोलाउने मनस्थितिमा पुगेको छनक पाएलगत्तै त्यो भेटवार्ता भएको बताइएको छ ।

झलनाथ खनाल र नेपाल पक्षको असन्तुष्ट समूहको एउटा मुख्य माग नै त्यो बैठक बोलाइयोस् भन्ने छ। त्यस्तो अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना भयो भने विपक्षी गठबन्धनमा फाटो आउन सक्छ। एमालेको असन्तुष्ट समूह आफ्नो मागअनुसार बैठक बोलाइदिने ओलीलाई साथ दिएर एकता जोगाउने कि राजनीतिक इमानदारी देखाउँदै देउवालाई साथ दिएर एमाले विभाजन घोषणा गर्ने भन्ने अप्ठेरोमा पर्ने देखिन्छ । त्यसैले पनि त्यो अवस्था आउनुअघि नै देउवा र प्रचण्डले नेता नेपाललाई विकल्पको रूपमा अघि बढाउन तयार रहेको आश्वासन दिएको लख काटिएको ठानिएको छ।

तर बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले त्यो कुरा अस्वीकार गर्दै भने, “बरु हाम्रो बीचमा अविश्वास र आशङ्का पैदा गर्ने विभिन्न खालका प्रयत्न हुन सक्छन्, त्यसमा हामी सचेत र सतर्क हुनुपर्छ भन्ने एकदम राम्रो कुरा भयो।” असन्तुष्ट एमालेसहितका बहुमत सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा देउवालाई प्रधानमन्त्री बनाउने माग पनि गरिएको छ। प्रधानमन्त्री ओलीको रणनीतिको पूर्वानुमान गर्न नसक्दा आफ्ना प्रतिक्रियात्मक कदम निष्प्रभावी भएको विपक्षी नेताहरू नै बताउँछन्।

माधव नेपाल प्रस्तावित हुने सम्भावना कति?

अघिल्लो पटक संसद् पुनर्स्थापना हुँदा विकल्प दिन नसके जस्तै यस पटक पनि पुनर्स्थापना भयो र ओलीले पार्टी बैठक बोलाए दिए भने विकल्प दिन नसक्ने घटना दोहोरिन सक्ने सम्भावना भएको मानिन्छ । के त्यस्तो अवस्थामा कांग्रेसले नेता माधव नेपाललाई अघि सार्न तयार हुन्छ त ? कांग्रेस नेता प्रकाश शरण महत भन्छन्, “अहिले त शेरबहादुरजीलाई नै नियुक्ति गर्नुपर्छ भनेर रिट निवेदनमा लेखेका छौँ। बाँकी त पछिको कुरा हो।” ओलीको विकल्पमा देउवालाई अघि सार्दा एमालेकै असन्तुष्ट पक्षका सांसदमा मतभेद देखिएको थियो। कतिपय खनाल-नेपाल पक्षका सांसदले नै हस्ताक्षर गरेनन्। ओलीले स्थायी कमिटीको बैठक आह्वान गर्दा पुनर्स्थापित प्रतिनिधिसभाका नेपालपक्षीय सांसदमाथि दबाव बढ्न सक्छ। त्यस्तो अवस्थामा नेता नेपालले देउवालाई नै साथ देलान् कि नदेलान् भन्ने चासो पाइन्छ।

देउवा-प्रचण्ड-नेपाल सहकार्य के होला?

नेपाल निकटस्थ नेता भीम रावल भन्छन्, “त्यो त काल्पनिक कुरा मात्रै भयो, केपी ओलीजीले केही गर्नु नै भएको छैन, अर्को कुरा हामीले सोच्नै परेन।” कतिपयले नेपाल पक्षले देउवा-प्रचण्डसँग लामो सहकार्यको समझदारी गरिसकेको भन्दै ओलीले बैठक बोलाए पनि दुईमध्ये एक पद छाड्नुपर्ने जस्ता माग थपिने सम्भावना देखेका छन् । त्यो जिज्ञासामा रावलको जबाफ थियो, “त्यस्तो काल्पनिक कुरा सोच्ने हो भने उहाँले बैठकको कुरा गरुन्जेल सर्वोच्च अदालतबाट सबै छिनोफानो भयो भने के हुन्छ भन्ने कुरा पनि आउन सक्छ नि।” तर नेपालपक्षकै अर्का नेता भीम आचार्यले प्रतिनिधिसभा जोगाउन हस्ताक्षर गरेको र त्यो पुनर्स्थापनापछि पार्टी अनुशासनको कुरा आउने बताए । बीबीसी नेपालीले लेखेको छ ।