दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछिको बाढी र पहिरोले घर पुर्दा दुहुँ गाउँपालिका–१, बस्पालीका नरसिंह महरा र उनकी पत्नी कौशीदेवी महराको मृत्यु भएको हो । त्यस्तै अर्का दुहुँ–५, डल्लाका मनुवा डडालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए । मनुवाकी श्रीमती उजलीलाई भने उद्धार गरिएको विष्टले बताए । 

स्थानीय निजाङ खोला (जुन महाकाली नदीमा मिसिन्छ)को बाढीले विभिन्न ठाउँमा क्षति गरेको छ । ‘महाकाली नगरपालिकामा ११ वटा घरमा क्षति पुगेको छ भने एउटा पक्की पुल बगाएको छ,’ उनले भने, ‘एउटा जेसीबी पहिरोले च्यापिएको छ, अपिनाम्पा संरक्षण कार्यालयमा पनि क्षति भएको छ ।’ 

प्रहरी निरीक्षक विष्टका अनुसार केही खच्चडहरू पनि बगाएको छ । बाढीपहिरोले क्षतिग्रस्त क्षेत्रमा सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन् ।