महेश बस्नेत भन्छन्, सभामुखले जालझेल गरी गुरिल्ला शैली देखाए

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुख अग्नि सापकोटाले बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसदको झल्को दिने गी एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगर्ने निर्णय गरेको आरोप लगाए ।

सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए । वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाइ छ ।