वैशाखी टेकेर माधव नेपाललाई साथ दिएका प्रदीप नेपालले छाडे साथ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रदीप नेपालले माधवकुमार नेपालको साथ छाडेका छन् । ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,’ नेता नेपालले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । बिदा ।’

यसअघि गत भदौ ९ गते नेपाल समूह सनाखतका लागि निर्वाचन आयोग पुग्दा नेता नेपाल पनि पुगेका थिए । शुरुमा कुनै पनि कित्तामा नखुलेका नेता नेपाल सनाखतका दिन आयोग पुगेका थिए ।