काठमाडाैं । काठमाडाैं उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
नेपाल सरकारले नुवाकोटको सिसडाेल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाइदिन प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
मेयर शाक्यले पत्रमा लेखेका छन्, ‘नेपाल सरकारबाट काठमाण्डौ उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ ।’
अहिले काठमाडाैं महानगरपालिकाबाहेक २० भन्दा बढी पालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाडाैं महानगरपालिकाबाट हुँदै आएको छ ।
Add Comment