अफगानिस्तानसँग नयाँ मित्रता सुरू भयो : अमेरिका

अफगानिस्तान । झन्डै २० वर्षको युद्ध अन्त्य गर्दै अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेसँगै अमेरिकाले अब त्यहाँ आफ्नो नयाँ कूटनीतिक अभियान (मिसन) सुरु भएको बताएको छ।  

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी दूतावास कतारको राजधानी दोहामा सारिएको जानकारी दिएका हुन्। 

उनले भनेका छन्, ‘अमेरिकी सैनिकको अन्तिम (फिर्ती) उडान भइसकेको छ, हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन्। अब अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ। जसअन्तर्गत हामी कूटनीतिक ढंगले अगाडि बढ्ने छौं। सैनिक अभियान पूरा भयो। एक नयाँ कूटनीतिक अभियान सुरु भयो।’

यस क्रममा उनले अफगानिस्तानबाट १ लाख २३ हजार व्यक्तिलाई सुरक्षित रूपमा निकालिएको जानकारी पनि दिए। जसमध्ये ६ हजारभन्दा बढी त अमेरिकी सैनिक नै रहेको उनले बताए। 

‘आजदेखि हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावास दोहा सारेका छौं। हामी यस विषयमा चाँडै कंग्रेसलाई जानकारी दिन्छौं। अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थिति हेरेर चालिएको यो समझदार कदम हो।’