एमसिसी परियोजना खारेजी अभियानले बुझायो प्रमलाई ज्ञापनपत्र

काठमाडौ। एमसिसी परियोजना खारेज गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र दर्ता भएको छ।

एमसिसी खारेज राष्ट्रिय अभियानले मंगलबार सिंहदरबार पुगेर आफ्ना माग दर्ता गराएको हो। अभियानले एमसिसी परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढाउने दाबी गर्दै उक्त परियोजना रोक्न माग गरेको हो।

ज्ञापनपत्रमा भनिएको छ, ‘एकातिर नेपालको सर्वभौमसत्ता असलग्न परराष्ट्र नीति र नेपालको भूराजनीतिलाई असर पार्ने गरी असमानता, अपमान षड्यन्त्रहरूले भरिएको सम्झौता अस्वीकार गरी नेपालले भूराजनीतिक सन्तुलन कायम गर्नुपर्दछ भने अर्कोतिर नेपालको उर्जा क्षेत्रमाथि अमेरिकी एकाधिकार कायम गर्ने कुत्सित योजनाबाट पनि जोगिनु पर्नेछ।’ अभियानका तर्फबाट निर्घ जैसीले ज्ञापनपत्र बुझाएका हुन्।

यस्ता छन् अभियानले बुझाएका मागहरुः

-एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्ध गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना एमसीए नेपाल तत्काल विघटन गनुपर्ने ।

-विद्युत विधेयक फिर्ता गरी विद्युत प्राधिकरणको निजिकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुपर्ने साथै उर्जा क्षेत्रको नवउदारीकरणको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने ।

-विद्युत नियमन आयोग खारेजी गर्दै प्राधिकरणलाई अधिकारसम्पन्न बनाउनु पर्ने प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, विद्युत विकासका पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनु पर्ने र जलविद्युत उत्पादनमा राष्ट्रिय पुजिपति र सर्वसाधारण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्नुपर्ने ।

-कालापानीलिपुलेक र लिम्पियाधुरा सहितको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाई आफ्नो भूमि फिर्ता नेपाल, भारत र नेपाल, चीन विचको सिमा विवाद समाधान गर्न अविलम्ब पहल गर्नुपर्ने र सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गर्नपर्ने ।

-उपरोक्त मागहरू जेठ १९ मित्र पुरा नभए जस्तो सुकै संघर्षको बाटो अख्तियार गर्न एमसीसी खारेज राष्ट्रिय अभियान बाध्य हुनेछ।