वडाध्यक्ष नै निस्किए बलात्कारी

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्याम सुन्दर यादवविरुद्ध गाउँकी एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएकी छन्। 

वडाध्यक्ष यादवले यही भदौ ५ गते राति आफूलाई बलात्कारको प्रयास गरेको भन्दै छिमेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएकी हुन्। 

महिलाबाट जाहेरी आएपछि सर्लाही प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको छ। ‘वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले भने, ‘वास्तविकता के हो बिस्तारै खुल्दै जाला।’

उनले महिलाको विषय अतिसंवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको बताए। ‘हामीले गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छौँ,’ उनले भने। 

वडाध्यक्षविरुद्ध उजुरी दिने महिला विवाहित हुन्। उनका पति बैदेशिक रोजगारीमा छन्।  वडाध्यक्ष यादवले घरमै आएर आफूलाई बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ। तर, वडाध्यक्ष यादवले भने आरोप अस्वीकार गरेका छन्। 

विपक्षीहरुले ती महिलालाई उचालेर आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्ने प्रयास गरेको उनको दाबी छ। ‘मविरुद्ध लागेको बलात्कारको आरोप झुटो हो। मलाई फसाउन विरोधीहरुले ती महिलालाई प्रगोग गरेका मात्रै हुन्,’ उनले भने।

गाउँपालिका अध्यक्ष विनोद कुमार साहको अगुवाईमा आफूलाई फसाउन खोजिएको वडाध्यक्ष यादवको आरोप छ। भदौ ५ गते मध्यराति ती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएको देखेर स्थानीयले ती पुरुषलाई नियन्त्रणमा लिएपछि आफू पनि त्यहाँ पुगेको वडाध्यक्ष यादवको दाबी छ।

त्यतिबेला आफूले ती महिला र पुरुषलाई सामाजिक मूल्य मान्यता विपरीतका गतिविधि नगर्न सम्झाइबुझाई गरेको तर, अहिले आएर उल्टै आफूमाथि नै बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिइएको उनको तर्क छ।