काठमाडौँ । वर्षायाममा बढी भएको बिजुली बेच्न नेपालले प्रस्ताव गरेका १३ वटा आयोजनालाई व्यापारको अनुमति दिन भारतले आनाकानी गरेको छ । सरकारी र निजी क्षेत्रका समेत आयोजनाबाट उत्पादित बिजुली किन्न नेपालले भारतलाई ५ पटकसम्म प्रस्ताव पठाइसकेको छ । तर त्यहाँको विद्युत् मन्त्रालयले भने अझै स्वीकृति दिएको छैन ।
भारतले थप बिजुली नकिन्ने भएपछि नेपालको बिजुली खेर जाने अवस्थामा पुगेको छ । चाडबाड लागेसँगै औद्योगिक क्षेत्रमा बिजुली खपत घटेपछि अहिले प्रतिदिन करिब २ सय मेगावाटसम्म बिजुली खेर जाने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
तत्काल करिब डेढ सयदेखि २ सय मेगावाट बिजुली लैजान नेपालले भारतलाई आग्रह गरिरहेको र भारतीय पक्षले पनि आफू सकारात्मक रहेको बताइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अब चाडबाड लागेपछि माग घट्ने भएकाले भारतलाई अरू आयोजनाको बिजुली पनि किनिदिनुपर्यो भनिरहेका छौं । यसमा उहाँहरूले पनि हेरिरहेका छौं भन्नुभएको छ,’ घिसिङले भने, ‘माथिल्लो तामाकोसीको बिजुली लैजान भारतले केही विमति देखाइरहेको छ । तर हामीलाई जुनसुकै आयोजनाको भए पनि बिजुली पठाउनु छ । पछिल्लो पटक मात्र १११ मेगावाट बिजुली किनिदिन भारतलाई प्रस्ताव पठाएका छौं ।’ अहिले नै १११ मेगावाट भारतले किनिदिए नेपालको बिजुली खेर जाने अवस्था नआउने उनको भनाइ छ । विद्युत् प्राधिकरणका अनुसार अहिले भारतले ५ वटा सरकारी र एउटा निजी क्षेत्रको विद्युत् आयोजनाबाट उत्पादित करिब ३६४ मेगावाट बिजुली मात्रै किनिरहेको छ । तर अझै १३ वटा आयोजनाको ७६१ मेगावाट बिजुली किनबेचका लागि उसले अनुमति दिएको छैन । चरम ऊर्जा संकटको समस्या भोगिरहेको अवस्थामा समेत भारतले बिजुली नकिनेपछि आगामी दिनमा नेपालको बजारलाई लिएर शंका उब्जिएको छ । प्राधिकरणका अनुसार हाल नेपालले इन्डियन इनर्जी एक्सचेन्ज ९आईईएक्स० ६ वटा आयोजनाको बिजुली बेचिरहेको छ ।
ती आयोजनाको उत्पादन क्षमता ३७४ मेगावाट बराबर भए पनि करिब ३ प्रतिशत चुहावटसमेत हिसाब गरेर अधिकतम ३६४ मेगावाटसम्म मात्रै बिजुली बेच्ने अनुमति नेपालले पाएको छ । हाल भारतसँगको बिजुली व्यापारमा प्रयोग भइरहेको ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट नेपालले अधिकतम ३६४ मेगावाट बराबर मात्रै बिजुली बेच्न पाउँछ । भारतले त्यति बिजुली मात्रै बेच्न अनुमति दिएको छ । तर नेपालले ४१२ मेगावाटसम्म बिजुली बेच्न सक्ने घिसिङको भनाइ छ ।
विद्युत् प्राधिकरणको विवरणअनुसार हाल भारतले २४ मेगावाटको त्रिशूली, १५ मेगावाटको देवीघाट, ६९ मेगावाटको मर्स्याङ्दी, १४४ मेगावाटको कालीगण्डकी ‘ए’ र ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली किनिरहेको छ । यी सबै प्राधिकरणअन्तर्गतका आयोजना हुन् । ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडबाट प्रवर्द्धित ५२।४ मेगावाटको लिखु–४ आयोजनाको बिजुली पनि भारत जान थालिसकेको छ । यो निजी क्षेत्रको आयोजना हो ।
प्राधिकरणले भारतसँग ३० मेगावाटको चमेलिया, ४५ मेगावाटको माथिल्लो भोटेकोसी र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले विद्युत् बेच्ने अनुमति मागेको लामै समय भयो । तीमध्ये माथिल्लो तामाकोसीको मात्रै बिजुली भारतले किनिदिए अहिले नै अरू आयोजनाको बिजुली बेच्नुपर्ने अवस्था रहँदैनथ्यो । तर माथिल्लो तामाकोसीमा चिनियाँ ठेकेदारले काम गरेका कारण त्यहाँबाट उत्पादित बिजुली किन्न नसकिने भारतले बताउँदै आएको छ ।
प्राधिकरणले गत जेठ २४ मा थप तीन आयोजनाको बिजुली लैजान भारतलाई प्रस्ताव गरेको देखिन्छ । त्यो बेला प्रस्तावित चिलिमेको २२.१, सोलु खोलाको २३.५, मिस्त्री खोलाको ४२ मेगावाट बिजुली पनि भारतले लगेको छैन । गत साउन ३० मा तेस्रो पटक नेपालले मिस्त्री खोलाको ४२ मेगावाट बिजुली किन्न प्रस्ताव पठायो । तर त्यो पनि स्वीकृत भएन । चौथो पटक गत भदौ २० मा १० मेगावाटको लोअर मोदी–१, २९.०४ मेगावाटको लिखु खोला‘ए’, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवा खोला ‘ए’ र २५ मेगावाटको काबेली ‘बी–१’ आयोजनाको बिजुली किनिदिने प्रस्ताव नेपालले पठाएको थियो । तर ती आयोजनाले पनि अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति पाएका छैनन् । गत शुक्रबार मात्र प्राधिकरणले तल्लो हेवा खोलाको २२ मेगावाट र तल्लो मोदी खोलाको २० मेगावाट बिजुली लैजान भारतलाई प्रस्ताव पठाएको छ । त्यसको भने जवाफ आएको छैन ।
भारतले विद्युत्लाई रणनीतिक महत्त्वको वस्तुका रूपमा राखेको छ, जसका कारण उसले आफ्नो सीमा जोडिएका देशहरूको लगानी रहेका जलविद्युत् आयोजनाको बिजुली नकिन्ने नीति लिएको छ । भारतले जारी गरेको ‘अधिकार प्राप्त संस्थाहरूले विद्युत् आयात–निर्यातका लागि स्वीकृति तथा सहजीकरण प्रक्रियासम्बन्धी कार्यविधि २०२१’ ९प्रोस्युड्युर फर एप्रुभल एन्ड फेसिलेटिङ इम्पोर्टरएक्सपोर्ट अफ इलेक्ट्रिसिटी बाई डेजिग्नेटेड अथोरिटी–२०२१० मा अरू देशको लगानी रहेका प्रसारण र वितरण आयोजनाबाट विद्युत् नकिन्ने प्रावधान राखिएको छ । यही प्रावधानका कारण नेपालका अरू आयोजनाको बिजुली भारतले नकिनेको हुन सक्ने ठानिएको छ ।
नेपालले आईईएक्समा बिजुली बेच्न ०२८ कात्तिक १७ मा पहिलोपल्ट अनुमति पाएको थियो । तर हिउँदयाममा भने नेपालले फेरि भारतबाट महँगोमा बिजुली किनेको थियो । वर्षायाम सुरु भएसँगै प्राधिकरणले यस वर्ष गत जेठ १९ बाट फेरि आईईएक्समा बिजुली बेचिरहेको छ । पछिल्लो तीन महिना अवधिमा मात्र करिब ७ अर्ब रुपैयाँ बराबरको बिजुली भारतमा बेचेको प्राधिकरणले बताउँदै आएको छ । नेपालले आईईएक्सभन्दा बाहिर भारतको बिहार राज्यलाई पनि नेपालले बिजुली बेचिरहेको छ ।
अहिले नेपालले दैनिक विद्युत् बजार डे अहेड मार्केट को अवधारणामा आईईएक्समा बिजुली बेचिरहेको छ । यस अवधारणामा हरेक दिनको २४ घण्टालाई १५ र १५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुली खरिद–बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बोलकबोल प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ देखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गर्ने गरिन्छ । नेपालले भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको छ । तर बंगलादेशसँगको विद्युत् व्यापारको ढोका अझै खुलेको छैन । कान्तिपुरपोष्टबाट
Add Comment