काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।
दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् । राजविराजस्थित पब्लिक विन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौं ल्याइसकेको छ । बारा घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए ।
महबुब र आदिल पक्राउका विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सीआईबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धान घेराभित्र रहेका छन् । ‘खेलाडीलाई लाइभ बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव राख्नेहरू व्यक्तिगतभन्दा पनि संस्थागत हिसाबमै देखिएको छ,’ आचार्यले भने, ‘विदेशी खेलाडी र खेलाउनेहरू पनि यसमा संलग्न देखिएका छन् । अनुसन्धान गरिरहेका छौं ।’ फिक्सिङ काण्डमा नेपाली क्रिकेट खेलाडी परेको यो पहिलो घटना हो ।
महबुबले सन् २००० देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल्ने क्रममा एकदिवसीयमा सबै १० विकेट लिने दुर्लभ कीर्तिमान बनाएका थिए । २००८ मा न्युजर्सीमा मोजाम्बिकविरुद्धको खेलमा उनले पाएको त्यो सफलता तीव्र गतिका बलरको हकमा विश्व क्रिकेटमै पहिलो हो । महबुब ५० ओभरको खेलमा नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडीसमेत हुन् । आदिल गत वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले आफूलाई राम्रो अलराउन्डरका रूपमा स्थापित गरेका छन् ।
नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुलमखुला लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको आरोप लगाउँदै प्रतियोगिताबाट आफू अलग भएको घोषणा गरेका थिए । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीमाथि सट्टेबाजले प्रस्ताव गरेपछि आफूहरूले एन्टी करप्सन युनिट ९एसीयू० मा उजुरी दिएको जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छुट्टै छानबिन समिति बनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी–२० लिगका विषयमा एक साताभित्र विवरण बुझाउन राखेपलाई निर्देशन दिएको थियो ।
नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको घटना बाहिर आएको दुई दिनपछि आईसीसीको प्रतिनिधिमण्डल अकस्मात् काठमाडौं आएको थियो । आईसीसी इन्ट्रिग्रिटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल टी–२० लिगको खेल हेर्नुका साथै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सीआईबीलगायतका टोलीसँग छलफल गरेको थियो । सट्टेबाजले प्रस्ताव गरेका खेलाडी र नेपालका अन्य प्रमुख खेलाडीसँग पनि टोलीले सोधपुछ गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर
आह्वान नगरी हचुवाका भरमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गरेर नेपाल टी–२० लिग आयोजना गरेको थियो । सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको स्ट्राटेजिक र कमर्सियल साझेदार थियो ।
८ वर्षे सम्झौताअनुरूप क्यानले दस्तुरबापत ३३ करोड पाउने भनिएको थियो, जसमध्ये ३ करोड ९० लाख रुपैयाँ पहिलो वर्ष भुक्तानी हुनुपर्ने सम्झौता थियो । यो रकम सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म क्यानको खातामा जम्मा गरिसक्नुपर्थ्यो । तर सम्झौताको ३० प्रतिशत रकम अर्थात् १ करोड २० लाख मात्र खातामा आएको थियो ।
नेपाल टी–२० लिगको पाँचौं दिनसम्म क्यानले पनि दस्तुर नपाएको र खेलाडीले पारिश्रमिक नपाएको गुनासो सुरु भइसकेका बेला सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई सुटुक्क दिल्ली पुगेका थिए । भारतीय पक्षले त्यसको दुई दिनपछि ९६ लाख रुपैयाँ क्यानको खातामा पठाइदिएको थियो ।
सीआईबी स्रोतका अनुसार महबुबले तिनै जतिनको सम्पर्कमा रहेर नेपाली खेलाडीलाई प्रस्ताव गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । स्पट फिक्सिङ गरिएको अवस्थामा सट्टेबाजको निर्देशनमा बलरहरूले विशेष गरी इनिङ्सको पहिलो र अन्तिम ओभरमा वाइड र नोबल फाल्ने गर्छन् । ब्याटरले धेरै बल खेलेर थोरै रन बनाउँछन् ।
आफ्नो इसाराअनुरूप खेलाडीले खेल्न लागेपछि सट्टेबाजले लाइभ बेटिङमा ठूलो रकममा पैसा लगाएर मालामाल हुने र त्यसको केही अंश स्पट फिक्सिङ गरेका खेलाडीलाई दिने गर्छन् ।
स्पट फिक्सिङमा गरिने नोबल अधिकांश ‘ओभर स्टेप’ को हुन्छ । आदिलले एक खेलमा ओभर स्टेपमा क्रिजभन्दा निकै बाहिर गएर नोबल गरेका थिए । त्यसपछि उनी शंकाको घेरामा परेका थिए । स्पट फिक्सिङको आरोपपछि एसीयू टोलीले विराटनगर सुपर किंग्सका विदेशी कप्तान र भारतीय व्यवस्थापकलाई टोलीबाट हटाएको थियो । लुम्बिनी अल स्टार्ससँगको क्वालिफायर्स १ खेलमा जनकपुरका कप्तान वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले ७ वाइड बल फालेका थिए ।
केही फ्रेन्चाइज टोलीको मालिक पहिचान नै नभएको तर तिनीहरू सट्टेबाजमार्फत आफ्ना खेलाडीलाई प्रस्ताव राख्न सक्रिय रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । खेल दौरान स्वस्फूर्त प्रदर्शन पनि नदेखिएको र लाइभ बेटिङसँग जोडिएका घटनामा पैसाको कारोबार बढी भएको पाइएपछि घटना छानबिन गरेका हौं,’ प्रहरी स्रोतले भन्यो, ‘दर्जनभन्दा बढी खेलाडी शंकाको घेरामा छन्, त्यसमध्ये प्रत्यक्ष संलग्न भएको प्रमाणकै आधारमा खेलाडी समातिएका हुन् । उनीहरूसँग जोडिएका अरू पनि हुन सक्छन् ।’
लाइभ बेटिङबाट आम्दानी हुने भएपछि खेलाडीहरू प्रलोभनमा फसेको प्रहरी स्रोतको भनाइ छ । ‘यसलाई आधार बनाएर अरू खेलसँग सम्बन्धितलाई पनि अनुसन्धान गर्न सकिन्छ तर तत्कालका लागि मान्छे पक्राउ परिसकेका कारण मुद्दा चाँडो दर्ता गराउनुपर्ने दबाब छ । अन्यलाई शंकास्पद हिसाबमा राखेर अरू मुद्दा दर्ता पनि गर्न सकिन्छ,’ स्रोतले भन्यो । कान्तिपुरपोष्टबाट
Add Comment