काठमाडौं । काठमाडौंको वसन्तपुरमा रंगचंगी ध्वजा सहित सजाइएको चीर ठड्याइएसँगै फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार ३ तले चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मान्ने गरिन्छ ।
सोमबार बिहान ७ बजेर ४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको ३ तले चीर ठड्याएका हुन् । सोही अवसरमा उनीहरूले एक(अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।
सोमबार पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक र ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताउनुभयो ।
उहाँले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिने बताउनुभयो । उहाँले भन्नुभयो,( ‘चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो।’
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराईका जिल्लाहरुमा होलीको सार्वजनिक बिदा दिइएको छ ।
Add Comment