काठमाडौं । नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका हुन् ।
उनीहरूले रायमाझी निर्दोष भएकोले साधारण तारेखमा छोड्नुपर्ने जिकिर गरेका छन् । प्रकरणमा रायमाझी निर्षोष रहेको र कुनै प्रमाणसमेत नभएको भन्दै साधारण तारेखमा छोड्नुपर्ने उनीहरूको दाबी छ ।
नक्कली शरणार्थी प्रकरणमा बुधवारदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरू भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रकरणको थुनछेक बहस भइरहेको छ ।
थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ पक्राउ परेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित ३० जनाविरुद्ध सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।
Add Comment