काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ । गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो ।
खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो । बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रण भन्दा बाहिर गएको जनाउँदै आएको थियो । अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताए ।
उहाँका अनुसार २ नं वडास्थित गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाएको हो । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट सुरू भएको आगोलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिए।
उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले वनमा आगो कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएका उहाँले बताउनुभयो । “हुरीबतास चलिरहेकाले आगो फैलनसक्ने जोखिम पनि उत्तिकै देखिन्छ”, उनले भने। उनका अनुसार आगलागीबाट के–कति क्षति भयो भन्नेबारे एकीन गर्न सकिएको छैन ।रासस


Add Comment