काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको उच्चस्तरीय संयन्त्र बैठकमा संसदमा पेस गर्ने अध्यादेशहरू र सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक उपायहरूबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा सरकारले संसदमा पेश गर्न लागेको विभिन्न अध्यादेशहरूबारे समीक्षा गरिएको बालुवाटार स्रोतले जनाएको छ। सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन, निजीकरण (पहिलो संशोधन) तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो।
तर, भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने सम्भावना न्यून भएकाले संसदमा पेश गर्न ढिलाइ भइरहेको छ। जनता समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि सरकारले यसबारे पुनर्विचार गरिरहेको छ।
बैठकमा सरकारका कामकारबाहीलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे समेत गहन छलफल भएको स्रोतको दाबी छ। सरकारका निकायहरूबाट अपेक्षित रुपमा कार्य सम्पादन हुन नसकेको अवस्थामा दुई दलबीच यस विषयमा सहमति खोज्न उच्चस्तरीय छलफल गरिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी रहेका थिए।


Add Comment