गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ अर्थात् राजीव गुरूङको २० प्रतिशत कैद छुट भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार उनलाई २० प्रतिशत कैद छुट दिने आदेश दिएको हो।
मनाङेले मुलुकी ऐन दण्ड सजायको दफा ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त दफामा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ। सोही आधारमा अदालतले उनको मागअनुसार निर्णय गरेको हो।
उक्त आदेशपछि मनाङेको कुल ५ वर्षको कैद सजाय १ वर्ष घट्ने भएको छ। अब उनले बाँकी १६ महिना मात्रै जेल सजाय भोग्नुपर्नेछ।
२० वर्ष पुरानो घटनामा दोषी ठहर
तरबार प्रहार गरी ‘चक्रे मिलन’ अर्थात् मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो। सर्वोच्च अदालतले समेत उनलाई दोषी ठहर गर्दै कैद सजाय सदर गरेको थियो।
उनी घटनालगत्तै पक्राउ परी २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्। अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि २० प्रतिशत छुटका कारण उनले १६ महिना मात्र जेल बस्नुपर्नेछ।
मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए। यसअघि, सर्वोच्च अदालतले कात्तिक २० गते उच्च अदालत पाटनको फैसला सदर गरेको थियो।


Add Comment