भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन्। यसअघि मौसमी अवस्था र यात्रु अभावका कारण नियमित उडान प्रभावित हुँदै आएको थियो।
हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको फ्लाई दुबई र थाइल्याण्डको थाई एयर एसियाले विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार नियमित उडान सुचारु भएसँगै विमानस्थल थप सक्रिय बन्दै गएको छ, जसले अन्य एयरलाइन्सलाई पनि आकर्षित गर्ने विश्वास लिएको छ।
नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौँ मार्गमा उडान भर्ने गरेको छ। जजिरा एयरवेज र थाई एयर एसियाले माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका हुन् भने फ्लाई दुबईले एक महिना अघिदेखि आफ्नो सेवा पुनः सञ्चालन गरेको छ। जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकमा पहिलोपटक उडान थालेका थिए।
गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार फेब्रुअरी महिनामा मात्र एक सय १५ उडानमार्फत छ हजार आठ सय ७९ यात्रुको आवागमन भएको छ। नियमित उडान सञ्चालनसँगै विमानस्थलको व्यस्तता बढ्दै गएको छ, जसले क्षेत्रीय हवाई आवागमनलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।


Add Comment