ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसीनाविरुद्ध हत्या, षड्यन्त्र लगायत पाँचवटा अभियोगमा आरोप पत्र दर्ता भएपछि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा उनीविरुद्ध औपचारिक रूपमा न्यायिक प्रक्रिया सुरु भएको छ।
पछिल्लो वर्ष जुलाईमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि गरिएको बर्बरतासँग सम्बन्धित घटनाका आधारमा यी अभियोगहरू लगाइएको बताइएको छ। आन्दोलन भएको करिब आठ महिना पछि मात्र शेख हसीनाविरुद्ध पहिलोपटक औपचारिक रूपमा मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो।
आरोपपत्र अभियोजन पक्षले आइतवार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा दर्ता गराएका हुन्। शेख हसीनासहित तीन जनाविरुद्ध दायर गरिएको उक्त आरोप पत्रका आधारमा न्यायाधिकरणले शेख हसीना र पूर्व गृहमन्त्री असदुज्जमाँ खान कमालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अब अदालतले औपचारिक रूपमा आरोप तय गरेपछि मात्र मुद्दा पूर्ण रूपमा अगाडि बढ्नेछ।


Add Comment