काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता (घोटाला) प्रकरणमा संलग्न भएको आशंकामा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले बाँकेको नेपालगन्जबाट बुधवार पक्राउ गरेको हो।
सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार मिश्रलाई नेपालगन्जमै रहेका बेला नियन्त्रणमा लिइएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
पशुपति दयाल मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्षको जिम्मेवारीमा थिए। उनले सो अवधिमा बैंक सञ्चालनमा रहँदा वित्तीय अनियमितता गरेको आरोप लाग्दै आएको छ।
यसअघि नै सो प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
पूर्वअध्यक्ष मिश्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले)का उम्मेदवारका रूपमा चुनावमा सहभागी भएका थिए। उनी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्।
घोटाला प्रकरणमा बैंकका उच्च तहका नेतृत्वकै संलग्नता पुष्टि भएपछि सीआईबीले यो घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानपछि थप दोषीहरू पनि सार्वजनिक हुने अनुमान गरिएको छ।


Add Comment