अमेरिकाको आडमा विपिन भजाएर आफ्नो स्वार्थ पूरा गर्दै इजरायल

काठमाडौं । नेपाल इजरायल वीचको कुटनीतिक सम्वन्ध भएको ६५ बर्ष पुगेको छ । यतिलामो समयसम्म कुटनीतिक सम्वन्धमा कुनै दरार उत्पन्न भएको छैन । तर पछिल्लो समय नेपाल स्थित इजरालय दूतावासबाट आउने विभिन्न अभिव्यक्तिले नेपाल र इजरायलवीचको कुटनीतिक सम्वन्धमा समेत समस्या आउने संकेत देखिएको छ । इजरायलले नेपाली विद्यार्थीहरुलाई ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि इजरालयल लिएर गएको महिना दिन पनि नपुग्दै हमास विद्रोहीहरुको आक्रमणमा परेर १० जनाले ज्यान गुमाउनु परेको थियो । भने अन्य विद्यार्थी सो आक्रमणबाट बच्न सफल पनि भएका थिए । तर हमास विद्रोहीहरुले नेपाली विद्यार्थी विपिन जोशी लगायत दर्जनौ व्यक्तिहरुलाई वन्धक बनाएका थिए ।

सो आक्रमण पछि नेपाली विद्यार्थीहरुलाई नेपाल फिर्ता गरेको इजरायली सरकारले विपिनको अवस्थाका बारेमा सार्वजनि गर्न नसकिरहेका बेला अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्न विपिनका आमाबाबुलाई संयुक्त राष्ट्रसंघ लैजाने तयारी गरिरहेको छ । नेपालका इजरायली राजदूत श्मुलिक एरी बासले जुन किसिमले विपिनका आमाबाबुलाई संयुक्त राष्ट्र संघमा लैजाने तयारी गरिरहेका छन् त्यसले नेपालका लागि प्रत्युत्पादक हुन सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका कमल थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा दबाब बढाउन उनका बाबुमाआलाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्ने बताउँदै विश्वका कतिपय मुलुकहरूले आतङ्ककारी घोषित गरिएको हमास समूहले करिब दुई वर्षदेखि बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गराउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यका साथ इजरायल सरकारले उनको बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिका लैजाने निर्णय गरेको सुन्दा अलि अनौठो लागेको छ। यस कार्यलाई अनुमति दिने बारे नेपाल सरकारले गम्भीर भएर सोच्न आग्रह गर्दछु।’

थापाले थप लेखेका छन्– हमाससँग युद्धरत रहेको र पछिल्लो समय मानव अधिकार उल्लंघनको कारण विवाद र आलोचनामा रहेको इजरायल सरकारको यो कार्य प्रत्युत्पादक हुन सक्दछ । इजरायल सरकारको सदासयताप्रति धन्यवाद व्यक्त गर्दै सरकारले अन्य विकल्प खोज्नु उपयुक्त हुन्छ। सरकारको ध्यान जाओस् ।

पछिल्लो समय इजरायलले अमेरिकाको आडमा हमास विद्रोहीलाई सिध्याउन रणनीति अनुरुप प्यालेष्टाईनमाथि अमानवीय गतिविधि बढाएको आरोप लागेको छ । इजरायलले पछिल्लो समयका गरेका आक्रमणलाई विभिन्न युरोपियन राष्ट्रहरुले विरोध समेत गरिसकेका छन् । तथापी इजरायलले अहिले विपिनका बाबु आमालाई संयुक्त राष्ट्र संघमा लैजान्छु भन्नु ६५ बर्ष लामो कुटनीतिक सम्वन्ध विगन सक्ने देखिन्छ ।

यस अघिका इजरायली राजदूत हनान गोदरले पनि विपिन जोशीको तस्वीर दुरुपयोग गरेको आरोप लागेको थियो । उनले हरेक नयाँ सरकारका गृहमन्त्री र परराष्ट्र मन्त्रीहरुलाई भेट्ने क्रममा विपिन जोशीको तस्वीरसँग लिएर जाने र विपिनलाई सकुशल फर्काउने प्रयास जारी रहेको भन्दै आईरहेको थिए । तर दुई बर्ष वितिसक्दा पनि इजरायली दूतावासले विपिनको स्थितका बारेमा जानकारी दिन सकेको छैन । त्यसकारण पनि विपिनका बाबुआमालाई संयुक्त राष्ट्र संघमा दवावका लागि लैजानु नेपाल सरकारले अनुमति दियो भने त्यसले नेपाललाई ठूलो प्रश्न उठ्न सक्छ ।

अघिल्ला राजदूत हनानले गरेको गतिविधि र वर्तमान राजदूतले गर्न खोजेको प्रयासमा सरकार संवेदनशील हुनु जरुरी छ ।
इजरायलले पछिल्लो समय हमासका नाममा इजरायल माथि निकै नै क्रुर कदम चालेको भन्दै प्यालेस्टाइनले ठूलो क्षतिका बावजुत अन्तराष्ट्रिय सहयोग, मानविय मूल्य र युद्ध अपराधविरुद्ध सार्वजनिक आह्वान गरिरहेको छ । तर, शक्ति राष्ट्रहरुले गरिरहेको क्रुर दमन, इजरायलको नरसंहार र अमेरिकी उक्साहटले निम्त्याएको खतरा अब विस्तारै संकटतर्फ होमिने खतरा बढिरहेका बेला संयुक्त राष्ट्र संघमा कुनै पनि हालतमा विपिन बाबु आमा लैजानु हुँदैन ।

युरोपेली राष्ट्र फ्रान्स, बेलायत लगायतले इजरायलका विपक्षमा धारणा राख्न थालेपछि इजरायलले विपिन बजाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप पनि लाग्न थालेको छ ।