काठमाडौं । जेनजी आन्दोलनको एक महिना पछि नेपाली सेनाले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने प्रर्दशनकारी २२ जना र प्रहरी ३ भएको र वाँकी अन्य कारणबाट ज्यान गुमाएका भन्ने दावी गरेको छ । सो दावी नेपाली सेनाले गरेको अनुन्धानबाट पुष्टि भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । गत भदौ २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये ४१ जना आन्दोलनकारी नभएका नेपाली सेनाले पुष्टि गरेको हो ।
२३ गते जेन–जी आन्दोलनको क्रममा काठमाडौंमा १९ र इटहरीमा २ गरी २१ जना आन्दोलनकारी मारिएका थिए भने त्यसको झण्डै दोब्बर संख्यामा भोलिपल्ट ठगी, आगजनी र लुटपाटमा संलग्नका भएकाहरूको मृत्यु भएको थियो ।
सेनाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्ध कार्य निर्देशक अनुपजंग थापाले लुटपाट, ठगी र आगलागीमा संलग्न रहेको अवस्थामा ४१ जनाले ज्यान गुमाएको बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा सेनाले ती व्यक्तिहरू आन्दोलनमा भीडभाडको मौका छोपेर व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा लुटपाट मच्चाउँदा आगोमा परेर वा अन्य कारणले मृत्यु भएको बताएको छ ।
सेनाका अनुसार बाँकी ३५ जनामध्ये केही जेलबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर र केही प्रत्यक्ष भिडन्तमा परी मारिएका हुन् । सेनाले ती मृत्युहरू कुन स्थानमा र कसरी भए भन्नेबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।
सेनाको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा देशभर ४ सय ८४ स्थानमा प्रदर्शन, तोडफोड र आगलागीका घटना भएका थिए । ती घटनामा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदीबन्दी र ४१ जना लुटपाटका क्रममा आगोमा जलेर वा अन्य कारणले मरेका थिए ।
सेनाले देशभर करिब ६ सय ८८ वटा सरकारी कार्यालय र भौतिक संरचना क्षतिग्रस्त भएको र १५ हजार ५ सय ८८ जना कैदीबन्दी फरार भएको जनाएको छ । तीमध्ये हालसम्म पक्राउ परेका वा स्वेच्छाले आत्मसमर्पण गरेकाको संख्या १० हजार ६ सयभन्दा बढी पुगेको छ ।
जेन–जीको नाममा भएको घटनाक्रममा अन्य सुरक्षा निकायको करिब ९ सय ७८ थान हतियारहरूमध्ये हालसम्म ५ सय ८६ थान हतियार फेला परेका र बुझाइएका छन्। तीमध्ये नेपाली सेनाले उपत्यकाभित्र फेला पारेका २ सय ७४ थान हतियार नेपाल प्रहरीलाई र १२ थान हतियार सशस्त्र प्रहरी बल नेपाललाई बुझाइसकेको पनि सेनाले जनाएको छ ।
उपत्यका बाहिरबाट समेत नेपाली सेनाले फेला पारेका ७९ थान हतियार नेपाल प्रहरीलाई बुझाइसकेको छ । थप ६५ थान हतियार पनि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया जारी रहेको सेनाले जनाएको छ । बरामद हतियारहरू विभिन्न स्थानमा भएको भिडन्त, तोडफोड र अराजक गतिविधिका क्रममा प्रयोग भएका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब दुई हजार प्रदर्शनकारीहरू भगाएर सुरक्षाकर्मीहरूले विमानस्थललाई जोगाएको दाबी पनि सेनाले गरेको छ ।
नेपालको रणनीतिक महत्व बोकेको यो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड तथा भीड प्रवेशको जोखिम बढेपछि सुरक्षाका दृष्टिले तत्काल कडाइ गरिएको थियो । विभिन्न स्थानबाट विमानस्थलभित्र प्रवेश गर्ने प्रयास भइरहे पनि सुरक्षाकर्मीहरूको सतर्कताका कारण कुनै ठूलो क्षति हुन नपाएको सेनाले दाबी गरेको छ ।
विमानस्थलमा सम्भावित अवरोधका कारण केही समय अन्तर्राष्ट्रिय उडान प्रभावित भए पनि भदौ २५ गतेदेखि विमानस्थल पूर्णरूपमा सुचारु गरिएको जनाइएको छ । यस्तै, विमानस्थलमा रहेका विदेशी पर्यटकहरूको सुरक्षा सुनिश्चित गरिएको र कूटनीतिक नियोगहरू तथा विदेशी नागरिकलाई समेत सुरक्षाका हिसाबले विशेष ध्यान दिइएको जनाइएको छ । यस घटनाले अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश जानुका साथै नेपालको सुरक्षा संयन्त्रको तत्परताको पनि प्रमाण दिएको सेनाले दाबी गरेको छ ।
सेनाका अनुसार, भदौ २३ गते नै काठमाडौंको नयाँ बानेश्वर र इटहरीमा कफ्र्यु लगाइएको भए पनि सुरक्षाको लागि तत्काल सेना परिचालन गरिएको थिएन । भदौ २४ गते राति १० बजेबाट मात्र सेना सक्रिय रूपमा परिचालन गरिएको हो ।
भदौ २५ देखि २८ गतेसम्म सेनाले देशभर २४ हजारभन्दा बढी सैनिक फौज परिचालन गरी शान्ति–सुरक्षा कायम गरेको थियो । सेनाले प्रहरी र सशस्त्र प्रहरीको संयोजनमा आगलागी नियन्त्रण, कैदी नियन्त्रण, संवेदनशील स्थल र भवनहरूको सुरक्षा तथा उद्धार कार्य सञ्चालन गरेको जनाएको छ ।
सेनाले अत्यन्त जटिल परिस्थितिमा पनि ६ देखि ८ घण्टामै देशभरको अराजक अवस्था नियन्त्रणमा ल्याएको दाबी गरेको छ । सेनाका अनुसार, ११ वटा दमकल, ३२ वटा ठूला सवारी साधन, २ सय १५ वटा दुईपांग्रे सवारी साधन सडकबाट हटाइएका थिए ।
सेनाको सहभागितामा २५ स्थानमा आगलागी नियन्त्रण, ६२ कारागारमा सुरक्षा व्यवस्था, र ४१ स्थानमा सुरक्षा फौज फिर्ता गरिएको जनाएको छ ।
त्यस्तै, सिंहदरबारमा भएको आगलागी नियन्त्रणमा सेनाको पहल निर्णायक भएको बताइएको छ । सेनाको फौज र प्रहरीको संयुक्त प्रयासमा रक्षा, अर्थ र राष्ट्रिय सुरक्षा परिषद्को डाटासेन्टरहरू जोगाइएको सेनाको दावी थियो ।
नेपाली सेनाका युद्ध कार्य निर्देशक थापाले संविधानको धारा २६७ ले सेनालाई नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थायित्वको रक्षा गर्ने जिम्मेवारी दिएको र त्यही संवैधानिक दायित्वअनुसार सेनाले जेन–जी आन्दोलनका घटनामा सशस्त्र हस्तक्षेप होइन, तर राष्ट्रिय सुरक्षाको न्यूनतम सुनिश्चितता कायम गर्न भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘सेनाको उद्देश्य शान्ति, स्थायित्व र नागरिकको सुरक्षामा केन्द्रित थियो । कुनै पनि नागरिकमाथि बल प्रयोग सेनाको पहिलो विकल्पमा कहिल्यै पनि रहेन ।’
सेनाले भनेको छ– ‘परिस्थितिलाई सामान्य बनाउँदै २५ हजारभन्दा बढी सैनिक र अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासले देशभित्रको अराजकता ८ घण्टामै नियन्त्रणमा ल्याइएको हो ।’
सेनाले प्रस्तुत गरेको विस्तृत प्रतिवेदनले जेन–जी आन्दोलन केवल राजनीतिक असन्तोष मात्र नभई अराजकता, आपराधिक गतिविधि र संगठित तोडफोडमा परिणत भएको स्पष्ट संकेत गरेको छ । सेनाको भनाइमा, सुरक्षाको संयमित हस्तक्षेपले देशलाई गृहयुद्धतिर मोडिनबाट जोगाएको थियो ।
यससँगै सेनाले नागरिक, प्रहरी, सशस्त्र प्रहरी र सेनाका सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संविधानले तोकेको दायित्वअनुसार राष्ट्रिय एकता, स्थायित्व र शान्ति कायम राख्ने प्रतिबद्धता दोहो¥याएको छ ।
जेन–जी आन्दोलनमा मृत्यु हुनेहरूको विवरण
प्रदर्शनकारी–२२
प्रहरी–३
कैदीबन्दी–१०
ठगी, लुटपाट र आगजनीमा संलग्न–४१


Add Comment