काठमाडौं । अनुसन्धानका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार उनीहरूलाई सोमबारदेखि लागू हुने गरी चार दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । त्यसपछि मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो । ‘उहाँहरूलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको छ,’ अदालतका प्रवक्ता लामिछानेले भने, ‘सोमबारदेखि नै लागू हुने गरी चार दिनका लागि यो अनुमति दिइएको हो ।’
अख्तियारले अनुसन्धानका लागि २० दिनको समय माग गरेको भए पनि अदालतले प्रारम्भिक रूपमा चार दिनको मात्र अनुमति दिएको छ । अदालतका अनुसार यो मुद्दा राहदानी छपाइसम्बन्धी ठेक्कामा भएको भनिएको भ्रष्टाचारजन्य कसुरसँग सम्बन्धित छ । यस प्रकरणमा मूल्यांकन समितिमा संलग्न रहेका विभागका अन्य कर्मचारी पनि छानबिनको दायरामा आउने सम्भावना रहेको बताइएको छ ।


Add Comment