मौसम पूर्वानुमान शाखाका अनुसार कुन जिल्लामा कस्तो प्रभाव पर्दैछ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले बुधबार साँझ ६ बजे आगामी पाँच दिनको मौसम पूर्वानुमानको आधारमा जोखिम नक्सा सार्वजनिक गरेको छ । सो नक्सामा आज असोज ८ गते विहीबार कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लामा सुन्तला रंगले संकेत गरेर सतर्क रहन भनिएको छ । सुन्तला रंगले जोखिम अवस्था हुनसक्ने भएकाले जनधनको सतर्क हुनुपर्ने भन्ने संकेत गर्दछ ।

यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका जिल्लामा पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थाबारे अध्यावधिक रहन भनिएको छ । जोखिम नक्सामा कर्णाली प्रदेशका केही जिल्लालाई पनि पहेँलो रंगले संकेत गरिएको छ ।

असोज ९ गते ८ गतेको तुलनामा अझ बढी जोखिम हुने संकेत गरिएको छ । यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा रातो रंगले संकेत गरिएको छ । यसको अर्थ प्रतिकार्य गर्नुपर्ने भन्ने बुझिन्छ ।
रातो रंगले संकेत गरिएका जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङ छन् ।

यसैगरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थामा अध्यावधिक रहन भनिएको छ । अरु बाँकी सबै जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क हुन भनिएकोमा आज बिहान भने हल्का संशोधन गरिएको छ ।

हिजो साँझ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लालाई पनि सुन्तला रंगले संकेत गरेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान भने ती पाँच जिल्लालाई पहेँलो रंगले संकेत गरी मौसमी अवस्थामा अध्यावधिक हुन भनेको छ ।