काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदा पक्राउ गर्ने र विभिन्न माध्यमबाट तर्साउने प्रयास भइरहेको भन्दै उनले आफू त्यस्ता धम्कीबाट पछि नहट्ने बताएका हुन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको आलोचना गरेकै आधारमा पक्राउ गर्ने वा दबाब सिर्जना गर्ने प्रयास स्वीकार्य नहुने बताए।
‘साथीहरूले तपाईंलाई पोखरा लैजाला, समात्ला भन्नुहुन्छ। मैले ती साथीहरूलाई भनेको छु– पक्राउ गर्न आउँदा खाली हात नआउनू, हतकडी लिएर आउनू। खाली हात चाहिँ जान्नँ,’ थापाले भने।
उनले आफूविरुद्ध वा पार्टीका अन्य नेताविरुद्ध हुने कुनै पनि कानुनी अनुसन्धानमा नेपाली कांग्रेसले अवरोध नगर्ने स्पष्ट पारे। अनुसन्धान गर्नुपर्ने भए कानुनअनुसार गर्न सरकारलाई आग्रह गर्दै उनले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने बताए।
थापाले राज्यका निकाय सत्ताको स्वार्थअनुसार परिचालन हुन थालेमा कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिए। उनका अनुसार कसैले सरकारसँग निकटता वा कुनै राजनीतिक दलमा आबद्ध भएकै कारण अनुसन्धानबाट उन्मुक्ति पाउनु हुँदैन।
उनले विगतमा कांग्रेस नेतृत्वको सरकारका पालामा पनि गलत कामको विरोध गरेको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि सत्तालाई प्रश्न गर्दै आएको स्मरण गरे। राजाको प्रत्यक्ष शासनकालमा आफूले राजद्रोहको मुद्दासमेत खेपेको उल्लेख गर्दै उनले राजनीतिक दबाब र धम्कीबाट आफ्नो आलोचनात्मक भूमिका कमजोर नहुने बताए।
पछिल्लो समय आफूलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न अडियो, भिडियो तथा सामग्री सार्वजनिक गरेर भय सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप थियो।
‘प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो। व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर तर्साएर तर्सिने मान्छे होइन,’ उनले बैठकमा भनेका थिए।
थापाले सरकारका राम्रा काममा कांग्रेसले सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने पनि स्पष्ट पारे। सरकार र प्रतिपक्षले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।
राजनीतिक सन्देश र सरकारमाथि प्रश्न
थापाको हतकडी लिएर आउन दिएको अभिव्यक्ति केवल व्यक्तिगत चुनौतीमा सीमित देखिँदैन। यसले सरकारको आलोचना गर्ने राजनीतिक दल र प्रतिपक्षको भूमिकालाई लिएर भइरहेको बहसलाई पनि सतहमा ल्याएको छ।
विशेषगरी सरकारले अनुसन्धान तथा कारबाहीका नाममा राजनीतिक प्रतिपक्षलाई दबाबमा राख्न खोजेको हो कि होइन भन्ने प्रश्न उनको अभिव्यक्तिको केन्द्रमा देखिन्छ। यद्यपि सरकारले उनलाई पक्राउ गर्ने औपचारिक निर्णय गरेको पुष्टि भएको छैन।
अर्कोतर्फ, थापाले आफू र पार्टीका नेतामाथि अनुसन्धान गर्न कुनै अवरोध नगर्ने तर अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्ने बताएका छन्। यसले उनको अभिव्यक्तिमा अनुसन्धानको विरोधभन्दा पनि राज्यका निकायको सम्भावित दुरुपयोगप्रति आपत्ति रहेको देखाउँछ।
लोकतान्त्रिक व्यवस्थामा सरकारका काममाथि प्रश्न उठाउनु प्रतिपक्षको संवैधानिक तथा राजनीतिक दायित्व हो। त्यस्तै, अनुसन्धानको दायरामा पर्ने जोसुकै व्यक्तिमाथि कानुनअनुसार छानबिन गर्नु राज्यको जिम्मेवारी हो। यी दुवै विषयलाई राजनीतिक प्रतिशोधभन्दा माथि राख्नुपर्ने सन्देश थापाले आफ्नो अभिव्यक्तिमार्फत दिएका छन्।


Add Comment