काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत रहेका छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो ।
थापा माथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की २ करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै ६ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८/७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष ९२०७६/७७० को ४३ करोड ३ लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।
Add Comment