काठमाडाैँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि वृद्धि भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.५६ अङ्कले उकालो लागेर २ हजार ६३.८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले उकालो लागेर ३ सय ९.८९ अङ्कमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये १ सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
कूल ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता शेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४० मूल्यमा खरिद बिक्री भएकाे छ ।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरीको रु १६ करोड ६४ लाख ८२ हजार ३ सय ३, एनआइसी एशिया बैंकको रु ११ करोड १४ लाख ५५ हजार, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ३५ लाख ८५ हजार नौ सय १५ र युनिभर्सल पावरको रु सात करोड ९२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त र खप्तड लघुवित्त रहेका छन् । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएकाे छ । अजोड इन्स्योरेन्स ९.९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन् । त्यस्तै एनएमबीका ५० लगानीकर्ताले ४.८० प्रतिशतले गुमाए भने नेपाल दूरसञ्चार कम्पनीको ४.०१, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ३.९६, नेपाल बैंक लिमिटेडको २.५६ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले २.४५ प्रतिशतले गुमाएका छन् ।
Add Comment