सगरमाथा जलविद्युत् आयोजनाले आइपीओ निष्कासन गर्दै

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले कूल जारी पुँजी १ अर्ब १२ करोडको १०% अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर १ सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १०% ले हुने ४ लाख ३६ हजार ८ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा आगामी माघ १९ मा हुनेछ भने ढिलोमा आगामी फागुन ५ बन्द हुने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ १९ गतेभित्र आवेदन दिनुपर्ने छ । स्थानीयले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई ओलामा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ताजा अपडेट