शैलुङको ‘मिनि ग्रेट वाल’ ७५ प्रतिशत सम्पन्न

काठमाडौँ । दोलखाको शैलुङगमा करीब ५ करोड लगानीमा निमार्ण हुन लागेको ‘मिनि ग्रेट वाल’ अन्तिम चरणमा पुगेको छ । शैलुङ गाउँपालिकाको कालापानीदेखि पर्यटकीयस्थल शैलुङको डाँफे ढुँगासम्म ग्रेट वाल निर्माणको डिपिआर तयार भएपनि शुरुमा कालापानीदेखि ५ सय मिटर लामो ग्रेट वाल निर्माण भईरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा मिनि ग्रेट वाल निर्माण शुरु गरिएको हो ।

शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भरतप्रसाद दुलालले संघीय सरकारसँग मिनि ग्रेट वाल निर्माणका लागि प्रस्ताव गरिएको थियो ।

५ सय मिटर लामो ग्रेट वाल निर्माणकालागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा सोबर्ण निर्माण सिन्धुपाल्चोकले ठेक्का सम्झौता गरेको थियो । ग्रेट वाल निर्माणमा संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।

२०७८ साल असार १५ गते एक बर्षको अवधिमा काम सक्ने गरी ठेक्का सम्झौता गरिए पनि निर्माण कम्पनीले एक बर्ष ढिलोगरी काम शुरु गरेको थियो । पहिलो चरणमा शैलुङको बेसक्याम्प कालापानीवाट शैलुङको थुम्कोतर्फ ठाडो उकालो बाटोमा ५ सय मिटर लामो ग्रेट वाल निर्माण हुनेछ । ग्रेट वाल निर्माणमा ढुँगालाई कलात्मकरुपले प्रयोग गरिएको छ ।

गाउँपालिकाले तयार पारेको डिपिआरमा ११ सय मिटर लामो ग्रेट वाल निर्माणको प्रस्ताव गरिएको छ । सोही अनुसार कालापानीदेखि डाँफे ढुँगासम्म ग्रेट वाल निर्माण हुनेछ ।

ताजा अपडेट