काठमाडौं । बैशाख ११, अर्थात लोकतन्त्र दिवस । शसस्त्र द्धन्द्वमा रहेको तात्कालिन माओवादी, शाही शासनबाट हेपिएका तर ४६ सालदेखि भ्रष्टाचारमा रमाएका राजनीतिक दलहरु सत्तामा जान नपाएका कारण् सात दलीय गठवन्धन गरी तात्कालिन राजा ज्ञानेन्द्र शाह विरुद्ध संघर्षमा उत्रिएर २०६२/६३ को जनआन्दोलन मार्फत प्राप्त लोकतन्त्र ।
लोकतन्त्र अहिले लुटतन्त्रका रुपमा स्थापित हुँदै गईरहेको देखिन्छ । नागरिकहरु अधिकार सुनिश्चित गरी समावेशितालाई प्राथमिकता दिइएको लोकतन्त्र १७ वर्षे लक्का जवान बनिरहँदा नागरिकहरुले त्यसको अनुभूति गर्न पाएको देखिएन ।
लोकतन्त्र प्राप्तिका १६ वर्ष विभिन्न आरोह अवरोह पार गर्दै नागरिकहरुलाई परिवर्तनको अनुभूति दिलाउने हुनु पर्दथ्यो, भएन । ३० वर्षे पञ्चायत विरुद्ध संघर्ष गरी ०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्र समेत अस्वीकार गरी लोकतन्त्र स्थापना गरियो । लोकतन्त्र लोकका विशेष हुनु पर्ने थियो । हुन सकेन । कारण लोकले त्यसलाई अनुभूति नै गर्न पाएन ।
२०४६ सालको परिवर्तनले ल्याएको अधिकार, वाक स्वतन्त्रता, मौलिक हकसँगै लोकतन्त्रले ल्याएको समावेशीतामा विचार र वाद भन्दा माथि परिवारवाद बन्न पुग्यो । पञ्चायती शैलीमा लोकतन्त्रवादीहरु देखिए अर्थात । जनताले चाहेको परिवर्तनभन्दा पनि पारिवारिक परिवर्तनमा नै राजनीतिक दलका नेतृत्वहरु नतमस्तक भए, भईरहेका छन् ।
लोकतन्त्र कै आडमा २ सय ४० बर्षिय राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न सफल भएता पनि त्यसले जनताको मुहारमा परिवर्तनको संकेत नै गरेन । गरिव झन् गरिवीको रेखामुनि पिल्सिनु परिरहेकोछ । गाँस, वास र कपासको ग्यारेण्टी भन्ने बाणीहरु हराए । शिक्षा स्वास्थ्य जनताको नैसर्गिक अधिकार भनिएता पनि यसमै व्यापारीकरण भयो ।
लोकतन्त्र सिमित व्यक्तिहरुको मुठ्ठी भित्र नै देखियो । लोकतन्त्रको मानकहरु विखण्डित वन्दै गए । विचार र सिद्धान्त पद पैसामा परिवर्तन भए । मानौ लोकतन्त्र भनेको ठूला दलहरुका लागि सत्ता र पदको भागबण्डा गर्ने महत्वपूर्ण कानून बनाईदिए जस्तो । जनताको दैनिक अझ कष्टकर वन्दै गयो । एउटा राजाको ठाउँमा दर्जनौ राजाहरु स्थापित हुने प्रयास गरें । जसका कारण लोकतन्त्र प्रति जनताको वितृष्णा पैदा गराईदिएको भान भईरहेको छ ।
पुराना पुस्ताबाट नयाँ पुस्तामा सत्ता हस्तान्तरणको प्रयास हुनु पर्ने थियो त्यो पनि हुन सकेन । बरु जसरी हुन्छ भागबण्डाबाटै सत्तामा लिसो जस्तै टाँसिएर बसिरहने प्रबृत्तिको हावी भयो । मुलुक परिवर्तन गर्ने संकेत वोकेर आएको लोकतन्त्रमा नेतृत्व वर्गनै परिवर्तन भईदिए ।
विगतको १६ वर्षमा बढ्दो बेरोजगारी, परनिर्भताले युवा पुस्तालाई अझ राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा गराईदियो । मुलुक र जनताको परिवर्तनको सट्टा सिमित व्यक्तिको परिवर्तन मात्र देखियो । आर्थिक रुपमा मुलुक संकटको भूमरीमा क्रमश फस्दै गईरहेको वर्तमान परिवेशमा लोकतन्त्र वास्तविक रुपमा नै जनताले अनुभूति गर्न पाएनन् । विचार र वादलाई मारेर लोकतन्त्रका नाममा दलहरु सत्ता बागबण्डामा नै रमाउन थाले । जनताले अनुभूति गर्न नपाएको के लोकतन्त्र ?
Add Comment